जिन्दगीमा सफलता पाउन नचाहने को छ र ? तपाईं जिन्दगीबाट हार्न चाहनुहुन्छ र ? पक्कै पनि तपाईं जिन्दगीका हरेक पाइलामा जित्न चाहनुहुन्छ । तपाईंले यो पुस्तक उठाउनुको कारण पनि त सफलता र जित चुम्बकसरी तपाईंसँग टाँसिन आइपुगून् भन्ने इच्छाका कारणले हो ! तर तपाईंले सफलता र जितका बारेमा सोच्नु भएको छ भने त्यसको तयारीका बारेमा के सोच्नु भएको छ ? सफलता त्यत्तिकै हात पार्न सकिँदैन । त्यसका लागि राम्रो तयारी गर्नुपर्छ । उसो भए कस्ता तयारी गर्नुपर्छ त ?
यो पुस्तकमा जित्ने इच्छा राख्नेहरूका लागि त्यसको तयारी कसरी गर्ने भन्ने बारेमा लेखिएको छ । वर्षोंको अध्ययन र कैयौं पुस्तकहरूको सम्पादनपछि एउटा अति विशिष्ट सूत्र फेला परेको छ । र, यो सूत्रलाई तपाईंले आफ्नो जीवनमा लागू गर्नुभयो भने तपाईं अवश्य पनि जित्ने तयारी गर्दै तहुनुहुन्छ । र, जित्ने तयारी पूरा भइसकेपछि तपाईं मैदानमा पुग्नुहुन्छ । राम्रो तयारी गरेको खेलाडी मैदानबाट कहिल्यै नजिती फर्किएको उदाहरण छ र ?
त्यसैले त जिन्दगीमा तपाईंले जित्नका लागि गर्नुपर्ने पाँच वटा तयारीहरूका बारेमा यहाँ वर्णन गरिएको छ । ती तयारीका बारेमा कैयौं पुस्तकले बताएका होलान् तर सरल र मन छुने किसिमले यसै पुस्तकमा बताइएको छ ।